लेकतिर उक्लियाे भेडी गोठ

बाग्लुङ | जेठ ८, २०८०

लेकतिर उक्लियाे भेडी गोठ

ढोरपाटन:    मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि÷अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् ।


गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् ।


औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक(बेसी गरी राख्छन् ।


बागलुङ निसीखोला, ढोरपाटन, तमानखोला, ताराखोला र गलकोटको माथिल्लो क्षेत्रमा बढी भेडाबाख्रा पालन हुने हुँदा गोठाला हप्तौँको यात्रा गरेर बुकी पुग्ने गर्छन् । बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखिनै लेक चढ्न थाल्छन् ।


असारको दोस्रो सातासम्म तमानखोलाको सोलेडाँडा, बागलुङ, पूर्वी रुकुम र रोल्पाका सिमाना पातीहाल्ने क्षेत्रमा बिताउने र त्यसपछि बुकी चढ्ने गर्छ । मध्य असारसम्म बुकीमा प्रसस्तघाँस नपलाउने हुँदा त्यस बेलासम्म बस्तीभन्दा माथिल्लो जङ्गलमा डेढ महिना भेडाबाख्रा चराउने गरिन्छ ।


अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ बेला मात्रै बेसी झर्ने गर्छन् । बेला(बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने गर्छन् । यति बेला उनीहरुले करिब एक महिनालाई पुग्ने आटो, पिठो र नुन बोकेर जाने गर्छन् ।


बर्खामा लेक र हिउँदमा बेसी गर्ने भेडागोठाले कात्तिक लागेपछि भेडा बेच्न बजारसम्म पुग्ने गर्छन् । अहिले सडकको पहुँचले गर्दा व्यापारी गोठमै पनि भेडा खरिद गर्न पुग्छन् । पहिले दुई साता हिँडेर भेडा बेच्न बजार झर्ने गरेको भेडापालक कृष्णबहादुर घर्तीमगरले बताए । लेकमा घाँस पलाएर भेडाबाख्राले खाने हुन थालेपछि लेक लैजान थालेको उनको भनाइ छ ।


‘यसपालि त बर्खा नलाग्दै ठूलो पानी पर्‍यो, त्यसले गर्दा लेकमा घाँस पलाएरका छन्, बेसीमा घाँस सकियो, यहाँ पाल्न सकिँदैन, त्यही भएर लेकतिर लागेका छौँ, पहिले(पहिले असार लाग्ने बेला जान्थ्यो, यो वर्ष दुई साता पहिलै लेक जाँदैछौं’, घर्तीमगरले भने, ‘अहिले लेक चडेपछि आउने त अब दसैँतिर मान्न हो, त्यस बेलासम्म परिवारसँग सँगै बस्न पाइँदैन, ज्यानलाई सञ्चो भएन भने, घरका केही पर्‍यो भने मात्रै झर्ने हो नत्र एकै पटक असोज, कात्तिकमा आउने हो ।’


तमानखोला गाउँपालिका-५ का भेडापालक देवबहादुर विकले अहिले आफूहरु तीन हजार दुईको उचाइमा रहेको जनाउँदै अब केही दिनमै चार हजार दुई सय मिटरको उचाइसम्म भेडा लिएर जाने बताए ।


गर्मी मौसममा भेडा औलमा बस्दा बिरामी पर्ने भएकाले गोठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उनको भनाइ छ । हिउँदमा माथिल्लो क्षेत्रमा अत्यधिक चिसो हुने र भेडाले चिसो सहन नसक्ने हुँद बेँसी झार्ने गरेको उनी बताउँछन् ।  भेडीगोठ यतिबेला तिलाचन, पाती हाल्ने शैलुङ, तल्लो फागुनेतिर लैजान सुरु भएको छ ।


उनी भन्छन्, ‘हामीहरु लेक बेँसी गर्न थालेको चालिसौँ वर्षभन्दा बढी भयो, भेडा नपाली खान लाउन पुग्दै, यही बेचेर परिवार चलाउँदै आएका छौँ, काम त गर्नै पर्‍यो जे गरे पनि, लाहुर जान सकिएन, पढ्न पाइएन, पढेको भए जागिर खाइन्थ्यो होला, हाम्रो पालामा पढ्ने लेख्ने चलन पनि थिएन, यसैगरी जिन्दगी बित्न थाल्यो, यहाँको वनपाखा सबै थाहा छ, म हरेक कुनामा पुगेको छु ।’


उनले नयाँ युवा पुस्ताले भेडापालनमा चासो नदिँदा पहिलेको जस्तो चहलपहल नभएको बताए । यसले गर्दा परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन थालेको गुनासो गरे ।


पहिले बुकीमा बीसौँ हजार भेडाबाख्रा हुने गरेको भन्दै अहिले निकै कम भएको विकको भनाइ छ । भेडाबाख्रा पाल्नेले पनि जङ्गलमा नलगी खोरमै बाँधेर पाल्ने गरेको उनले बताए ।


पश्चिम बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि भेडापालनमा स्थानीयको चासो उत्तिकै देखिन्छ । भेडापालक कृषकले रहेक वर्ष चार लाखदेखि १२ लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्